
विराटनगर । सुनसरीको इटहरी उपमहानगरपालिका-२० पानीपिया जंगलमा कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । गएराति भएको दुर्घटनामा तीन जना घाइते भएका छन् ।
दुर्घटनामा परेर कारमा सवार इटहरी-१ का ४० वर्षीय विष्णु राउतको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते भएका उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारका क्रममा मृत्यु भएको हो ।
दुर्घटनामा कार चालक सुनसरीको रामधुनी नगरपालिका-७ का ३० वर्षीय विवेक लामा, इटहरी-४ का ४३ वर्षीय गंगा बस्नेत र इटहरी-१ का ३१ वर्षीय कल्याण कटुवाल घाइते भएका छन् । घाइतेहरूको बीपीमा नै उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार प्र ०१-०३० च ४६१८ नम्बरको कार आफैं अनियन्त्रित भएर राति ११ बजेतिर दुर्घटनामा परेको हो । धरानबाट इटहरीतर्फ आउँदै गरेको कार अनियन्त्रित भएर रूखमा ठोक्किएको थियो ।
तीव्र गतिमा कार चलाउँदा दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कार पूर्णरूपमा क्षतिग्रस्त भएको छ । सामान्य उपचारपछि कार चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

संगालोखबर 













