विराटनगर । नेकपा एमाले विराटनगर महानगरको दोस्रो अधिवेशन आजबाट सुरु हुँदैछ । कोशी प्रदेशका संस्थापक मुख्यमन्त्री तथा एमालेका प्रदेश इन्चार्ज शेरधन राईले अधिवेशनको उद्घाटन गर्नेछन् ।
बुधबारसम्म चल्ने अधिवेशनबाट नयाँ नेतृत्व चयन हुनेछ । अध्यक्षमा वर्तमान अध्यक्ष रोहित कोइराला र महानगर सचिव बलराम गिरीबीच प्रतिस्पर्धा हुने बताइएको छ । नेताहरूका अनुसार सर्वसम्मत नेतृत्व चयनको प्रयास हुनेछ । सर्वसम्मत नेतृत्व चयन हुन नसकेको खण्डमा निर्वाचन प्रक्रिया अघि बढ्नेछ ।
कोइरालालाई पार्टीका प्रदेश इन्चार्ज शेरधन राई, अध्यक्ष घनश्याम खतिवडा, मोरङ इन्चार्ज जीवन घिमिरे, महानगर इञ्चार्ज पर्शुराम बस्नेत, सङ्घीय संसद्को सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेललगायतका नेताहरूले समर्थन गरेको बताइएको छ । गिरीलाई भने विनोद ढकाल, पार्टीका मोरङ अध्यक्ष अजम्बर राईसहितको समर्थन रहेको जनाइएको छ ।
कोइरालाको समूहबाट उपाध्यक्षमा राम पोखरेल, सचिवमा नवराज काफ्ले, उपसचिवमा चन्द्रशेखर विश्वास, उपसचिव (महिला)मा कला डाँगी उम्मेदवार बन्ने नेताहरूको भनाइ छ ।
गिरीको समूहबाट उपाध्यक्षमा सुरज न्यौपाने, सचिवमा विज्ञान शर्मा चापागाईं, उपसचिवमा हमित हाजाज र उपसचिव (महिला)मा हिमा मैनाली उम्मेदवार बन्ने सम्भावना रहेको बताइन्छ ।
एमाले विराटनगर महानगर कमिटीको अधिवेशनमा ३ सय १४ जना प्रतिनिधि सहभागी हुने छन् । जसमध्ये भूगोलबाट २ सय २०, जनसंगठनबाट ७९ र मनोनीत १५ जना छन् ।