
धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका-१० स्थित घम्सी खोलामा एक महिलाको शव फेला परेको छ । आज दिउँसो अन्दाजी ४५ वर्षकी महिलाको शव फेला परेको हो ।
प्रहरीका अनुसार महिलाको पहिचान खुल्न बाँकी छ । प्रहरी चौकी त्रिवेणी धनकुटाबाट प्रहरी सहायक निरीक्षक राजेन्द्र राईको कमान्डमा खटिएको टोलीले बाटोबाट अन्दाजी ४०-५० मिटर तल शव फेला पारेको थियो ।
पहिचान हालसम्म खुल्न नसके पनि उनी मानसिक सन्तुलन ठिक नभएकी र मागी खाँदै हिँड्ने गरेको प्रारम्भिक अनुमान गरिएको छ । उनको हुलिया अनुसार उनले रातो चोलो, चोलोमाथि सेतो भेस्ट र निलो रङको बुट्टे सारी लगाएकी थिइन् ।
प्रहरीका अनुसार उनी तराई मूलकी हुन सक्ने अनुमान गरिएको छ । शवलाई कानुनी प्रकृया पूरा गरेर पोष्टमार्टमको लागि धरान स्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
शवको पहिचान खुलाउने प्रयास साथै मृत्युको कारण पत्ता लगाउन आवश्यक अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ ।