विराटनगर । मोरङको सुनवर्षी नगरपालिका-३ मा ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकल चालक भूपेन्द्र कटुवालको मृत्यु भएको हो ।
उनी राष्ट्रिय युवा संघ नेपाल सुनवर्षी नगर कमिटीका सचिव रहेको जनाइएको छ । सुनवर्षीबाट खैरबारीतर्फ जाँदै गरेको प्र १-०२-००३ त ०७५२ नम्बरको ट्याक्टरले प्र १-०४-००१ प ४०११ नम्बरको मोटरसाइकल ठक्कर दिएको थियो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि न्युरो अस्पताल विराटनगर ल्याइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
ट्याक्टर चालक सुनवर्षी-४ का २९ वर्षीय सञ्जितकुमार महतोलाई नियन्त्रणमा लिएर घटनाको सम्बन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।