धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका स्थित राजारानीमा भएको १५ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा महालक्ष्मी नगरपालिका प्रथम भएको छ ।
पुण्य माध्यमिक विद्यालयको खेल मैदानमा सम्पन्न प्रतियोगितामा सबैभन्दा बढी खेलमा विजयी भई महालक्ष्मी प्रथम भएको हो । १४ औं संस्करणमा पनि सर्वाधिक पदक जित्दै महालक्ष्मी प्रथम भएको थियो ।
महालक्ष्मीले सर्वाधिक ३१ स्वर्ण, २५ रजत र ८ कांस्य गरी जम्मा ६४ पदक हात पारेको छ । यसैगरी धनकुटा नगरपालिका दोस्रो भएको छ । धनकुटाले १८ स्वर्ण, १६ रजत र ३० कांस्य सहित ६४ पदक नै पाएको छ ।
५ स्वर्ण, ७ रजत र ११ कांस्य जित्दै चौबिसे गाउँपालिका तेस्रो भएको छ । यस्तै चौथो भएको साँगुरीगढी गाउँपालिकाले ३ स्वर्ण, ७ रजत र ७ कांस्य पदक प्राप्त गरेको छ ।
पाख्रीबास नगरपालिकाले २ स्वर्ण, ५ रजत र ५ कांस्य पाउँदा सहिदभूमि गाउँपालिका र छथर जोरपाटी गाउँपालिकाले १ स्वर्ण र ३ काँस्य प्राप्त गरेका छन् ।
प्रतियोगितामा जिल्लाका सात वटै पालिकाबाट करिव पाँच सय खेलाडी सहभागी भएका जिल्ला खेलकुद विकास समिति धनकुटाका अध्यक्ष मनोज राईले बताए । प्रतियोगितामा ६६ स्वर्ण, ६६ रजत र १३८ कांस्य पदकका लागि विद्यार्थीहरूबीच प्रतिष्पर्धा भएको थियो ।