धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाको केन्द्र राजारानीमा आजबाट १५ औँ जिल्ला स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ । चौबिसे गाउँपालिकाको व्यवस्थापनमा जिल्ला खेलकुद विकास समितिले स्थानीय पुण्य माध्यमिक विद्यालयको खेल मैदानमा प्रतियोगिता आयोजना गरेको हो ।
पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य राजेन्द्र राईले बेलुन उडाएर प्रतियोगिता उद्घाटन गरेका छन् ।
प्रतियोगिता उद्घाटन गर्दै सांसद राईले खेलकुद क्षेत्रको माध्यमबाट देशको नाम उच्च बनाउन सकिने धारणा राखे ।
चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङले सबै खेलाडी विद्यार्थी र सहभागीहरूलाई मन्तव्यमार्फत स्वागत गरे । १४ औँ संस्करणको विजेता बनेर महालक्ष्मी नगरपालिकाले प्राप्त गरेको शिल्ड मेयर ध्रुवराज रायले जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मनोज राईलाई हस्तान्तरण गरेका छन् ।
दुई दिनसम्म चल्ने प्रतियोगितामा जिल्लाका सात वटै पालिकाबाट करिव पाँच सय खेलाडी सहभागी छन् । प्रतियोगितामा ६६ स्वर्ण, ६६ रजत र १३८ कास्य पदकका लागि विद्यार्थीहरुबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।