धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-४ सुरुङ्गीमा नियमित बस सेवा सुरु भएको छ । सोमबार एक औपचारिक कार्यक्रम गर्दै गाउँपालिकाका अध्यक्ष राजकुमार लिम्बुले बस सेवाको उद्घाटन गरेका हुन् ।
धरानबाट नियमित कुरुले, मानेडाँडा हुँदै बस सुरुङ्गी पुग्नेछ भने सुरुङ्गीबाट धरान जानेछ । ‘यसअघि परीक्षणको रूपमा बस सञ्चालन भएको भएपनि औपचारिक रूपमा सञ्चालनमा आएको थिएन’, वडा नम्बर ४ का वडाध्यक्ष लोकेन्द्र थापा मगरले संगालोखबरसँग भने, ‘सोमबार औपचारिक उद्घाटन भयो । अब नियमितरूपमा बस सञ्चालन हुन्छ ।’
बस सञ्चालनमा आएसँगै उक्त क्षेत्रका बासिन्दालाई सहज भएको छ । यसअघि लामो बाटो हिँडेपछि मात्रै बस चढ्ने स्थान पुग्न सकिन्थ्यो । तत्कालका लागि एउटा बसमात्रै सञ्चालन भएपनि बिस्तारै थप हुने वडाध्यक्ष मगरले जानकारी दिए ।
नियमित बस सञ्चालनमा आएसँगै धरानलगायतका अन्य स्थानमा जाने स्थानीयहरूलाई सहज भएको उनले बताए । ‘लामो बाटो हिँडेर बस चढ्नुपर्दा वृद्धवृद्धा र बालबालिकालाई थप समस्या हुन्थ्यो’, मगरले थपे, ‘अब सबैलाई सहज भएको छ । बस सञ्चालनमा भूमिका खेल्नेप्रति आभारी छु ।’
सुरुङ्गी टोल विकास संस्थाको आयोजनामा भएको कार्यक्रममा बाजागाजासहित स्थानीयहरू भेला भएका थिए । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष टंकमाया पांपी मगर, यातायात व्यवसायी सङ्घका प्रतिनिधि, जनप्रतिनिधि, स्थानीय बुद्धिजीवीलगायतको उपस्थिति रहेको थियो ।