धनकुटा । धनकुटाको चौबिसे गाउँपालिका-२, मुढेबासस्थित डाँडागाउँमा रहेको मगर जातिको परम्परा, संस्कृति र इतिहास समेटिएको संग्रहालय प्रचार र पूर्वाधारको अभावले ओझेलमा परेको छ ।
करिब एक सयभन्दा बढी पुराना र लोपोन्मुख सामग्रीहरू सङ्कलन गरिए पनि यहाँको मौलिक धरोहर हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकको सङ्ख्या न्यून छ ।
चार वर्षअघि निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रमअन्तर्गत १० लाख रुपैयाँ बजेटमा सुरु गरिएको यस संग्रहालयमा मगर जातिको अतीत झल्काउने अनेक सामग्री छन् ।
संग्रहालयका संरक्षक तथा गाउँपालिकाकी उपाध्यक्ष टंकमाया पाङ्मी मगरका अनुसार, बाबुबाजेले प्रयोग गरेका ‘फाम’ (दूध दुहुने भाँडो), सगुन हाल्न प्रयोग हुने ‘गरियो’, काठका दराज, परम्परागत गहना राख्ने भाँडाहरू, लोपोन्मुख बाजा, पहिरन, हातहतियारलगायत ऐतिहासिक सामग्रीहरू राखिएको छ ।
मौलिकता छ, तर सुविधा छैन
संग्रहालयको भवन भने अस्थायी र सुविधाविहीन छ । जस्ताको छानो र भुइँतले घरलाई संग्राहलय बनाइएको छ । सामग्री राख्ने दराजको अभावमा धेरै पुराना वस्तुहरू सुरक्षित राख्न समस्या भइरहेको छ । संग्रहालयमा मानिस जन्मे देखि मृत्युसम्म प्रयोग गरिने परम्परागत सामग्रीहरूसमेत छन्, तर तिनको संरक्षण चुनौतीपूर्ण बन्दै गएको स्थानीय मदन मगर बताउँछन् ।
हालै गाउँपालिकाबाट आर्थिक वर्ष ०८१/०८२ का लागि थप ६ लाख रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष राजकुमार चेम्जोङले जानकारी दिए । तर यो बजेट दीर्घकालीन संरक्षणका लागि अपुग हुने स्थानीयको भनाइ छ ।
अनुसन्धानको खानी, प्रवर्द्धनको खाँचो
मगर जातिको बाहुल्यता रहेको मुढेबासमा करिब तीन सय घरधुरीमा एक हजार दुई सय जनसङ्ख्या रहेको अनुमान छ । स्थानीय सौर्य, कोर्ना, मुढेबास जस्ता बस्तीमा मगर भाषा, कला र परम्परागत संस्कार गहिरो रूपमा जरा गाडेर बसेका छन् । तर यिनको अध्ययन, संरक्षण र प्रवर्द्धनको पहल भने न्यून छ ।
‘संग्रहालय केवल वस्तु देखाउने ठाउँ होइन, यो इतिहास बोल्ने थलो हो’, उपाध्यक्ष पाङ्मी मगर भन्छिन्, ‘हामी मगर समुदायको सांस्कृतिक सम्पदालाई भावी पुस्ताका लागि सुरक्षित राख्न चाहन्छौँ ।’ मगर समुदायको हुर्रा नाचजस्ता सांस्कृतिक कार्यक्रम कहिलेकाहीं आयोजना गरिए पनि त्यसलाई व्यापक बनाउन अझै योजना, स्रोत र सहकार्यको खाँचो देखिएको छ ।
यो संग्रहालय केवल मगर समुदायको इतिहास होइन, समग्र नेपाली मौलिक संस्कृतिको एक प्रतिविम्ब हो । त्यसैले यसको प्रवर्द्धन, पूर्वाधार र संरक्षणमा समयमा नै ध्यान दिन आवश्यक देखिन्छ ।