धनकुटा । धनकुटा नगर क्षेत्रका अल्पसङ्ख्यक आठपहरियाहरूको ऋण धनकुटा नगरपालिकाले तिरिदिने भएको छ । ऋण तिर्न नसकेर उठिवास हुन लागेका उनीहरूको ऋण नगरपालिकाले तिरिदिन लागेको हो ।
धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङले समस्यामा परेका दुई सय ९८ परिवारको ऋण नगरपालिकाले तिर्ने जानकारी दिएका छन् ।
धनकुटामा आयोजित एकल जातीहरूको सांस्कृतिक पहिचान सम्बन्धी कार्यक्रममा बोल्दै मेयर तामाङले चालु आर्थिक वर्षमा ४३ परिवारको ऋण नगरपालिकाले तिर्ने जानकारी दिए ।
बाँकीको ऋण आगामी आर्थिक वर्ष तिरिने मेयर तामाङको भनाइ छ । धनकुटा नगर क्षेत्रलाई आठपहरिया जातीको उद्गम स्थल मानिन्छ । यहाँ ८ हजार भन्दा बढी आठपहरियाको बसोवास छ ।
घरपरिवार चलाउन ऋण लिएर तिर्न नसक्दा घरजग्गा गुमाएर सुकुम्बासी हुने अवस्थामा पुगेका उनीहरूको प्रति परिवार एक लाखसम्मको ऋण नगरपालिकाले तिर्न लागेको हो ।
सीमान्तकृत आठपहरिया समुदायको उत्थानका लागि विभिन्न गतिविधि गर्दै आएको नगरपालिकाले यसअघि उनीहरूको घरमा टिनको छानो लगाइदिएको छ । धनकुटाको बिहिबारे हटियामा आठपहरिया जातीको सङ्ग्राहालय पनि निर्माण गरिएको छ ।