धनकुटा । धनकुटाको पाख्रीबास नगरपालिका-९ उत्तरपानीमा आगलागी हुँदा ११ करोड बढीको क्षति भएको छ । शनिबार राति अचानक भएको आगलागीबाट तीन घर जल्दा ११ करोड ६ लाख बराबरको क्षति भएको हो ।
स्थानीय अमर श्रेष्ठको घरबाट आगलागी सुरु भएको थियो । आगलागीबाट श्रेष्ठको दुई तले घर र किराना पसल पूर्णरूपमा नष्ट हुँदा अर्को निर्माणाधीन पक्की घरको झ्याल, ढोका र वालमा पनि क्षति पुगेको छ ।
यस्तै नगद पाँच लाख पनि जलेर नष्ट भएको प्रहरीको भनाइ छ । धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार आगलागीबाट श्रेष्ठको ११ करोड बराबरको क्षति भएको छ ।
यस्तै छिमेकी खगेन्द्र घिसिङको २ तल्ले निर्माणधीन घरमा समेत आंशिक क्षति पुगेको छ । घिसिङको अन्दाजी ६ लाख बराबरको क्षति भएको प्रहरीको भनाइ छ ।
धनकुटा नगरपालिकाको दमकल, नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीले राति ११ बजे पूर्णरूपमा आगो नियन्त्रणमा लिएको थियो । विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ ।