संगालोखबर


विराटनगर । मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट प्रतिबन्धित लागूऔषधसहित १२ जना पक्राउ परेका छन् । चेकजाँच तथा लागूऔषधको अवैध कारोबारमा भइरहेको सूचनाका आधरमा खटिएको प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत घर भइ सुनसरीको धरान उपमहानगरपालिका-९ बस्ने ३० वर्षीय  विजय साह, धरान-९ का २७ वर्षीय निरञ्जन यादव, धरान-१० का २५ वर्षीय विशेष राई र धरान-१७ का २६ वर्षीय निश्चल राई रहेका छन् ।

Advertisement

उनीहरूलाई धरान-९ बाट स्पास्मो प्रोक्सीभन-८० ट्याब्लेट, ट्रामाडोल एक हजार चार सय ४० क्याप्सुल, नाइट्राजेपाम ७५ ट्याब्लेटसहित प्रहरीले नियन्त्रणमा लिएको हो ।

यसैगरी धरान-११ बाट २२ वर्षीय संजिव सुनुवार र १९ वर्षीय सविन परियारलाई ट्रामोल-५० लेखिएको चार सय ६० क्याप्सुल र नियन्त्रित औषधी स्पास्पेन चार सय ६९ ट्याब्लेटसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

त्यस्तै लागूऔषध ब्राउनसुगर दुई ग्राम ८९ मिलिग्रामसहित धरान-५ का २६ वर्षीय दिवेश रम्तेल, सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका-५ का २६ वर्षीय रहिस मन्सुरी र सुनसरीको इटहरी उपमहानगरपालिका-५ का ३२ वर्षीय सनम शेर्पा पनि पक्राउ परेका छन् ।

प्रहरीले धरान-१५ का एक बालकलाई उनकै घर छेउबाट नियन्त्रित औषधी कोलिबान आठ सय पाँच क्याप्सुल र ट्रामाडोल आठ सय पाँच क्याप्सुलसहित नियन्त्रणमा लिएको छ ।

यस्तै इलाका प्रहरी कार्यालय उर्लाबारीबाट विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले उर्लाबारी नगरपालिका-५ बाट १९ वर्षीय सुजन सिवालाई ट्रामाडोल एक सय ६० ट्याब्लेट र स्पाष्मिड एक सय ६० क्याप्सुलसहित नियन्त्रणमा लिएको छ ।

साथै बिक्रीमा संलग्न मोरङको पथरी शनिश्चरे नगरपालिका-२ का २९ वर्षीय सुमन गुरुङलाई ट्रामाडोल एक हजार १६ ट्याब्लेट र  स्पाष्मिड नौ सय ८० क्याप्सुलसहित प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिबन्धित लागूऔषधसहित पक्राउ परेका उनीहरूका सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!