संगालोखबर

धनकुटा । सप्तरीको नमोबुद्ध युथ फुटबल क्लबले १७ औं संस्करणको सहिद भीमनारायण गोल्डकपको उपाधि जितेको छ । धनकुटाको तल्लो टुँडिखेलमा आज भएको फाइनल खेलमा उदयपुरको गाईघाट फुटबल क्लबलाई ट्राइबेकरमा ५-३ गोल अन्तरले पराजित गर्दै नमोबुद्धले उपाधि चुमेको हो ।

Advertisement

नमोबुद्धलाई उपाधि दिलाउन ट्राइबेकरमा सनम धिमाल, आयुष मगर, हेमन्त भुजेल, विवेक राई र प्रवेश दनुवारले गोल गरे । गाईघाटका निश्चल मोक्तान, आकाश राई र प्रवीन राईले गोल गर्न सफल भए । तर, धिरेन क्षेत्रीले गरेको प्रहारलाई नमोबुद्धका गोलरक्षक रविन बस्नेतले विफल तुल्याए । निर्धारित ९० मिनेटको खेलमा दुवै टिम २-२ गोलको बराबरीमा रोकिएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो ।

खेलको ४० औं मिनेटमा नमोबुद्धको राज भुसालले गोल गर्दै टिमको खाता खोलेका थिए । त्यसको एक मिनेट बित्न नपाउँदै गाईघाटका आकाश राईले गोल फर्काउँदै खेललाई १-१ गोलको बराबरीमा ल्याए । ४३ औं मिनेटमा क्षितिज भण्डारीले डिबक्स बाहिरबाट गरेको प्रहार गोलमा परिणत हुँदा नमोबुद्धले २-१ गोलले अग्रता लियो । ८३ औं मिनेटमा गाईघाटका असिम राईले गोल गरेपछि खेलमा २-२ गोलको बराबरी भयो । निर्धारित समयमा थप गोल हुन नसकेर ट्राइबेकरमा गएको खेलमा गाईघाटलाई स्तब्ध पार्दै नमोबुद्धले उपाधि चुम्न सफल भएको हो ।

उपाधिसँगै नमोबुद्धले नगद ५ लाख पाएको छ भने उपविजेता गाईघाटले २ लाख ५० हजारमा चित्त बुझाएको छ ।

ट्राइबेकरमा गोल छेकेर टिमलाई उपाधि दिलाउन सफल नमोवुद्धका गोलरक्षक रविन बस्नेत फाइनल खेलको उत्कृष्ट खेलाडी र प्रतियोगिताभरको उत्कृष्ट गोलरक्षक घोषित भए । नमोवुद्ध कै राज भुसाल प्रतियोगिताभरको सर्वोत्कृष्ट खेलाडी घोषित भएर १७ हजार ५ सय ५५ नगद पुरस्कार जित्न सफल भए ।

विजयी टिम र उत्कृष्ट खेलाडीहरूलाई धनकुटा नगरपालिकाका मेयर चिन्तन तामाङ, पाख्रीवास नगरपालिकाका मेयर ज्ञानबहादुर गुरुङ, संविधान सभा सदस्य मनोहर नारायण श्रेष्ठ, प्रतियोगिताका संयोजक शम्भु प्रधान लगायतले पुरस्कृत गरेका छन् ।

सहिद भीमनारायण श्रेष्ठ स्मृति प्रतिष्ठानको आयोजनामा चैत १७ गतेदेखि एक सातासम्म सञ्चालित प्रतियोगितामा आठ टिमबीच उपाधिका लागि प्रतिष्पर्धा भएको थियो । सहिद श्रेष्ठको स्मृतिमा २०५५ सालदेखि हरेक वर्ष प्रतियोगिता गरिदै आएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!