विराटनगर । सहिद भीमनारायण गोल्डकप अन्तरगत आज अन्तिम सेमिफाइनल खेल हुँदैछ । आजको अन्तिम सेमिफाइनल खेलमा सशस्त्र प्रहरी बलको एपीएफ र गाइघाट फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
धनकुटाको तल्लो टुँडिखेलमा ३ः३० बजेबाट खेल सुरु हुने आयोजकले जनाएको छ । सुनसरीको ब्वाइज फुटबल क्लबलाई १-० गोलले पराजित गर्दै गाइघाटले सेमिफाइनल यात्रा तय गरेको थियो भने मोरङको बेलबारी फुटबल क्लबलाई ३-२ गोल अन्तरले पराजित गर्दै एपीएफ सेमिफाइनलमा पुगेको हो ।
आजको विजेता टोलीले भोलि हुने फाइनल खेलमा नमोबुद्ध युथ फुटबल क्लब सप्तरीसँग प्रतिस्पर्धा गर्ने छ । नमोबुद्ध पहिलो सेमिफाइनलमा बिर्तामोड युनाइटेड क्लब झापालाई ३-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।
प्रतियोगिताको विजेता टिमले पाँच लाख रुपैयाँ र उपविजेताले दुई लाख ५० हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यस्तै, सबैभन्दा बढी गोल गर्ने खेलाडी, म्यान अफ द म्याच तथा उत्कृष्ट खेलाडी लाई पनि नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । खेलको प्रत्यक्ष प्रसारण संगालोखबरबाट हेर्न सक्नुहुनेछ ।