संगालोखबर


धनकुटा । पत्रकार हत्या र सञ्चार गृहमाथि भएको आक्रमणको विरोधमा धनकुटाका पत्रकारहरू पनि आन्दोलित भएका छन् । शुक्रबार राजावादीको प्रदर्शनमा एभिन्युज टेलिभिजनका पत्रकार  सुरेश रजकको हत्या तथा विभिन्न सञ्चार गृहमा तोडफोड गरिएको भन्दै आज पत्रकार महासङ्घ धनकुटाले विरोधसभा आयोजना गरेको हो ।

उनीहरूले पत्रकारलाई जिउँदै आगो लगाएर हत्या गर्ने र सञ्चार माध्यममाथि तोडफोड गर्नेलाई कारबाहीको दायरामा ल्याउनुपर्ने बताए । यस्तै उनीहरूले आगामी दिनमा यस्तो घटना नहोस् भन्दै सरकारको ध्यानाकर्षण समेत गराएका छन् । उनीहरूले पत्रकारको सुरक्षाको ग्यारेन्टी सरकारले लिन सक्नुपर्ने उल्लेख गरे ।

Advertisement

यता नेपाल पत्रकार महासङ्घ मोरङ शाखाले पनि विराटनगरमा विरोध प्रदर्शन गरेको छ । महासङ्घको कार्यालयबाट सुरु भएको विरोध र्‍याली ट्राफिक चोक, महेन्द्र चोक, शनिमन्दिर जलजला मोड हुँदै ट्राफिक चोक पुगेर कोण सभामा परिणत भएको थियो ।

नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य कमल रिमाल, मोरङ शाखा अध्यक्ष सुशीला पाठक लगायतले कोण सभालाई सम्बोधन गरेका थिए । उनीहरूले पत्रकार रजकको हत्यामा संलग्न दोषीहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने बताए ।

देशैभरका पत्रकारहरूले रजकको हत्याको निन्दा गर्दै प्रेस स्वतन्त्रताको रक्षा र पत्रकारको सुरक्षाको सुनिश्चितता गर्न सरकारसँग माग गरेका छन् ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!