धनकुटा । धनकुटामा वनमा लागेको डढेलो बस्तीमा सल्कँदा दुई घर जलेर नष्ट भएका छन् । बुधबार साँझ चौबिसे गाउँपालिका-४ बाजथलाका राम बहादुर पाख्रिन र हिरेन्द्र निरौलाको घरगोठ जलेका हुन् ।
देउराली सामुदायिक वनबाट सल्केको डढेलो बस्तीमा पस्दा घर तथा गोठमा भएको अन्नपात, कपडा तथा फर्निचर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । आगलागीबाट करिब ७ लाख बराबरको क्षति भएको धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
वनमा लागेको आगो आज बिहान ७ बजे पूर्णरूपमा नियन्त्रणमा आइसकेको प्रहरीले जनाएको छ । यस्तै साँगुरीगढी गाउँपालिका-५ स्थित तारेभीर सामुदायिक वनमा पनि डढेलो लागेको थियो ।
उक्त डढेलो धरान उपमहानगरपालिकाको दमकल र स्थानीयको सहयोगमा प्रहरीले पूर्णरूपमा नियन्त्रणमा लिएको छ । उक्त डढेलोबाट मानवीय तथा चौपाया क्षति नभएको डीएसपी खनालले जानकारी दिए ।