धनकुटा । धनकुटाको सहिदभूमि गाउँपालिका-१ घंगरुमा अन्तरपालिका खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । सहिद प्रकाश थापा स्मृति ट्रष्टको आयोजना तथा गाउँपालिकाको सहयोगमा बुधबारबाट पाँचौँ संस्करणको प्रतियोगिता सुरु भएको हो ।
प्रतियोगिताको गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्दाली राईले उद्घाटन गरेका थिए । उद्घाटन खेलमा आयोजकलाई साँगुरीगढी गाउँपालिकाले १५-२५, २५-१८, २५-२० र २६-२४ ले हराउँदै पहिलो चरणको लिगमा प्रवेश गरेको छ ।
आजको खेलमा भोजपुरको हतुवागढी र धनकुटाको साँगुरीगढी तथा भोजपुरको षडानन्द र मोरङको बेलबारीबीच प्रतिष्पर्धा हुनेछ । प्रतियोगितामा ६ टिमको सहभागिता छ । विजेताले एक लाख २१ हजार रुपैयाँ र उपविजेताले ६५ हजार रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।
नेपाल प्रहरीका नायब निरीक्षक रहेका सहिद थापाको २०५७ साल मंसिर १४ गते कालिकोट जिल्लाको कोटवडा कुमाल गाउँमा राज्यपक्ष र माओवादीबीच भएको दोहोरो भिडन्तमा परि ज्यान गएको थियो । उनैको सम्झनामा २०७६ सालबाट ट्रष्ट स्थापना गरी भलिबल प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।