विराटनगर । धनकुटाको साँगुरीगढी गाउँपालिका-६ कार्कीछापमा सुमो दुर्घटना भएको छ । आज दिउँसो २ः३० बजे धरानबाट संखुवासभातर्फ जाँदै गरेको प्रदेश नं १-०२-००१ ज ४०६६ नम्बरको सुमो दुर्घटना भएको हो ।
दुर्घटनामा सात जना घाइते भएका इलाका प्रहरी कार्यालय भेडेटारका प्रहरी नायव निरीक्षक रमेश प्रधानले संगालोखबरलाई जानकारी दिए । उनका अनुसार अगाडिको टायर पड्किएर सुमो दुर्घटनामा परेको हो ।
दुर्घटनामा संखुवासभाको मकालु गाउँपालिका-४ का १८ वर्षीया स्वस्तिका राई, ४५ वर्षीया सुमित्रा तामाङ, ३५ वर्षीया निर्मला राई, २४ वर्षीय बिकेन्द्र राई तथा धनकुटाको महालक्ष्मी-३ की ६६ वर्षीया मैयाँ थापा र उनकी १२ वर्षीया छोरी आयुशा थापा घाइते भएका छन् ।
उनीहरूको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपामा उपचार भइरहेको र अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । गाडीमा सवार १३ जना मध्ये ७ जना सकुशल रहेका छन् । चालक धरान-१५ का ३४ वर्षीय सुमन लिम्बुलाई इलाका प्रहरी कार्यालय भेडेटारले नियन्त्रणमा लिएको छ ।