विराटनगर । मोरङको जहदा गाउँपालिका-४ सिसौबारी स्थित भित्री सडकखण्डमा स्कुलबस दुर्घटना भएको छ । दुर्घटनामा १२ जना विद्यार्थी घाइते भएका छन् । आज बिहान करिब १०ः४५ बजे सु-प्रभा बोर्डिङ स्कुलको को २ ख ९५१७ नम्बरको बस आफैँ अनियन्त्रित भएर दुर्घटना भएको हो ।
दुर्घटनामा १० वर्षीय आर्यन हेमरन, ११ वर्षीय रूपेश भलाटी, १० वर्षीय शंकर किस्कु, १० वर्षीय शिव किस्कु, ८ वर्षीय विष्णु मुर्मु, १२ वर्षीय रूपेश मरण्डी, ७ वर्षीया निर्जला मुर्मु, ९ वर्षीया दिपीका टुडु, ९ वर्षीय विष्कु शर्मा, १३ वर्षीया एलिशा टुडु, ६ वर्षीय राहुल अस्था र १४ वर्षीय सुदब सुरेकार घाइते भएका छन् ।
उनीहरूको शरीरको विभिन्न भागमा चोट लागेको छ । प्रहरीका अनुसार उनीहरूको अवस्था सामान्य रहेको र उपचारका लागि कोशी अस्पताल विराटनगर ल्याइएको छ । बस घटनास्थलमा नै रहेको प्रहरीले जनाएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख इन्स्पेक्टर राजन लम्सालका अनुसार कच्ची बाटो र नयाँ चालकका कारण दुर्घटना भएको हो । बस चालक जहदा गाउँपालिका-३ का ३५ वर्षीय सिताराम राजवंशीलाई नियन्त्रणमा लिएको उनले बताए ।
‘उक्त सडकका लागि चालक नयाँ रहेछन् । कच्चि बाटो, त्यसमाथि पानी परेर थप बिग्रिएको रहेछ’, लम्सालले संगालोखबरसँग भने, ‘चालकले मापसे र लापसे गरेको पाइएन । चालक अनुमति पत्र पनि छ । कारण, चालकका लागि नयाँ सडक भएर कहाँ कस्तो अवस्था छ, थाहा नपाउँदा दुर्घटना भएको पाइयो ।’ घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।