
विराटनगर । सुनसरीको छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । शनिबार इटहरी उपमहानगरपालिका-५ हिरा होटल अगाडि पहिचान नखुलेको सवारीसाधनले ठक्कर दिँदा साइकलयात्रीको मृत्यु भएको हो ।
प्रहरीका अनुसार अन्दाजी ३५/४० वर्षको मृतक पुरुषको पहिचान खुल्न बाँकी छ । कम्मर र टाउकोमा चोट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
ठक्कर दिने सवारीसाधनको खोजी भइरहेको प्रहरीले जनाएको छ । यसैगरी बराहक्षेत्र नगरपालिका-६ ठाकुरबारीस्थित भित्री पक्की सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
शुक्रबारेबाट ठाकुरबारीतर्फ आउँदै गरेको को ३९ प ७९९२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा मोटरसाइकल पछाडि सवार रामधुनी-५ का २५ वर्षीय राधेश्याम चौधरीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालक सोही स्थानका अन्दाजी २५ वर्षीय युवराज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । तीब्र गतिका कारण मोटरसाइकल दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।