धनकुटा । धनकुटामा डढेलो रोकथाम तथा नियन्त्रणका लागि सचेतना कार्यक्रम गरिएको छ । डिभिजन वन कार्यालयको आयोजना तथा सामुदायिक वन उपभोक्ता महासङ्घ धनकुटाको संयोजनमा सचेतना सप्ताह कार्यक्रम गरिएको हो ।
सुख्खा मौसम सुरु भएसँगै वनमा डढेलोको जोखिम बढ्दै गएपछि सचेतना कार्यक्रम गरिएको वन महासङ्घ धनकुटाका अध्यक्ष निलबहादुर थापाले जानकारी दिए । डढेलो रोकथामका लागि प्रत्येक वर्ष विशेष अभियान सञ्चालन गर्ने गरिएको उनले बताए ।
डढेलोबाट हुने जनधनको क्षति न्यूनिकरण गर्न चैत ७ गतेबाट अभियान सुरु गरिएको उनको भनाइ छ । जिल्लाका सातवटै पालिकामा सचेतना कार्यक्रम गरिएको डिभिजन वन कार्यालय धनकुटाका प्रमुख सञ्जीवराज ढकालले बताए ।
अभियानअन्तर्गत सामुदायिक वनमा डढेलो रोकथाम गर्न अपनाउनुपर्ने उपायका बारेमा जानकारी गराइएको छ । यस्तै फायर लाइन सफा गर्ने, नमुना अभ्यास गराउने, पातपतिङ्गर हटाउने तथा जलाउने लगायतका कार्य गरिएको उनले बताए ।
धनकुटामा तीन सय ८७ सामुदायिक र एउटा धार्मिक वन रहेको महासङ्घले जनाएको छ । वनमा डढेलो लागेको थाहा पाए तुरुन्तै सम्बन्धित निकायमा खबर गर्न तथा नियन्त्रणमा लाग्न आग्रह गरिएको छ ।