धनकुटा । नेपाली काँग्रेसका पूर्वमहामन्त्री अर्जुननरसिंह केसीले सुशासन कायम गर्न नसक्दा गणतन्त्रको आलोचना भएको बताएका छन् । आज काँग्रेस कोशी प्रदेश प्रशिक्षण विभागले धनकुटामा आयोजना गरेको ‘प्रशिक्षक प्रशिक्षण’ कार्यक्रममा बोल्दै केसीले यस्तो बताएका हुन् ।
उनले गणतन्त्रप्रतिको निराशा काँग्रेसले मात्रै समाधान गर्न सक्ने बताए । देशमा अप्ठ्यारो पर्दा र हरेक परिवर्तनमा काँग्रेसको भूमिका महत्वपूर्ण भएको उनले उल्लेख गरे ।
पूर्वमन्त्री समेत रहेका केसीले काँग्रेसभित्र पात्र नभएर प्रवृत्ति गलत रहेको बताए । उनले सबै नेता कार्यकर्ताको प्रवृत्ति सुधार हुन आवश्यक रहेको औँल्याए । काँग्रेसको महाधिवेशनमा आफू पनि आकाङ्क्षी रहेको बताउँदै बेला आएपछि त्यो एकदिन बाहिर आउने उनको भनाइ थियो ।
कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री मीन विश्वकर्मा, संविधानसभा सदस्य पुष्प भुसाल तथा पूर्वनेता रमेशजङ्ग रायमाझीले प्रशिक्षण दिएका थिए ।