संगालोखबर


धनकुटा । धनकुटा नगरपालिकाले आवश्यक विवरण बुझाउन सहकारी संस्थालाई पत्राचार गरेको छ । नगरपालिकाभित्र सञ्चालित २३ वटा सहकारीले समयमा आवश्यक विवरण नबुझाएकाले निश्चित समय तोकेर विवरण बुझाउन आग्रह गरिएको हो ।

नगरपालिकाले बुधबार एक सूचना जारी गर्दै १५ दिन भित्रमा जरिवानासहित आवश्यक विवरण बुझाउन भनेको छ । सो समयमा पनि विवरण नबुझाएको खण्डमा संस्था खारेजीको प्रक्रिया अगाडि बढाइने प्रमुख प्रशासकीय अधिकृत दशरथ राईले बताए ।

Advertisement

धनकुटा नगरपालिकाको सहकारी ऐन, २०७५ को दफा २८ को उपदफा (२) बमोजिम सहकारी संस्थाको साधारण सभा आर्थिक वर्ष समाप्त भएको मितिले ६ महिनाभित्र बोलाउनु पर्ने हुन्छ ।

सोही ऐनको दफा ५२ को उपदफा (१) बमोजिम आर्थिक बर्ष समाप्त भएको मितिले ३ महिना भित्र संस्थाको कारोबारको लेखा परीक्षण गराई सोको प्रतिवेदन, वार्षिक प्रतिवेदन लगायतका कागजातहरू कार्यालयमा तोकिएको समयभित्र पेश गर्नुपर्ने हुन्छ ।

तर, २३ वटा सहकारीले लेखा परीक्षण गर्ने, साधारण सभा गर्ने तथा विवरण बुझाउने लगायतका कार्य अहिलेसम्म नगरेपछि सूचना निकालिएको राईले संगालोखबरलाई जानकारी दिए ।

तोकिएको समयभित्र विवरण प्राप्त नभएमा नगरपालिकाको सहकारी ऐन, २०७५ को दफा ६६ को उपदफा (३) बमोजिम आवश्यक प्रक्रिया अघि बढाइने नगरपालिकाका आर्थिक विकास अधिकृत बिकास अधिकारीले बताए । 

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!