
विराटनगर । कोशी प्रदेशका दुई जिल्लाबाट लागूऔषधसहित चार जना पक्राउ परेका छन् । बुधबार मोरङ र सुनसरी जिल्लाका विभिन्न स्थानबाट प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
कोशी प्रदेश प्रहरी कार्यालयको प्रादेशिक अनुसन्धान समूह र इलाका प्रहरी कार्यालय बेलबारीको संयुक्त टोलीले दुई जनालाई पक्राउ गरेको छ । बेलबारी नगरपालिका-४ का ४३ वर्षीय पर्शुराम दर्जी र उनकै घरमा भाडामा बस्ने ३० वर्षीय सुशील मोतेलाई लागूऔषध बिक्रीवितरण गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले उनीहरूको साथबाट १७ ग्राम ८८ मिलिग्राम ब्राउन सुगर र ६१ हजार ६ सय ४० रुपैयाँ बरामद गरेको छ । यसैगरी लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले विराटनगर-१६ बाट सुन्दरहरैँचा नगरपालिका-५ का २४ वर्षीय नेत्र बहादुर खनाललाई नियन्त्रणमा लिएको छ ।
उनलाई विभिन्न प्रकारका प्रतिबन्धित औषधीसहित प्रहरीले नियन्त्रणमा लिएको हो । यस्तै अस्थाई प्रहरी बिट बुढीखोलाबाट खटिएको प्रहरी टोलीले इटहरी-४ बाट इटहरी-१० का २५ वर्षीय सविन श्रेष्ठलाई पक्राउ गरेको छ ।
उनको साथबाट प्रहरीले ट्रमाडोल एक सय ९० ट्याबलेट बरामद गरेको छ । उनीहरूका सम्बन्धमा सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भइरहेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।