विराटनगर । जीवन विकास लघुवित्त वित्तीय संस्था उर्लाबारीका शाखा प्रमुख मृत फेला परेका छन् । मोरङको झुर्किया घर भएका ३२ वर्षीय भुपेन्द्रकुमार साह कार्यालयमा नै मृत फेला परेका हुन् ।
उनी मंसिर २ गतेदेखि उर्लाबारी शाखामा प्रमुखको रूपमा कार्यरत थिए । आज बिहान कार्यालय खुल्ने समयमा कर्मचारीले नदेखिएपछि खोजी गर्ने क्रममा झुण्डिएको अवस्थामा भेटेका थिए ।
इलाका प्रहरी कार्यालय उर्लाबारीबाट प्रहरीको टोली घटनास्थलमा पुगेको छ । ‘कोठामा झुण्डिएको अवस्थामा मृत फेला पर्नुभएको छ’, उर्लाबारीका प्रहरी निरीक्षक रञ्जन बरालले संगालोखबरसँग भने, ‘अहिले घटनास्थलमा आवश्यक कानुनी प्रक्रिया पूरा गर्ने काम भइरहेको छ ।’ मृत्युको कारण खुल्न बाँकी छ । घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको छ ।