विराटनगर । मोरङको बुढीगङ्गा गाउँपालिका–३ स्थित कोशी राजमार्गमा गएराती एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । गंगा चोकबाट नेमुवातर्फ जाँदै गरेको मनमाया श्रेष्ठ स्मृति प्रतिष्ठान मोरङको को १ च ४७७४ नम्बरको एम्बुलेन्स राती करिब ११ बजे महालक्ष्मी वायर नजिक सडकको डिभाइडरमा ठोक्किएको हो ।
दुर्घटनामा एम्बुलेन्स चालक उदयपुरको पञ्चवती घर भइ बुढीगङ्गा-२ बस्दै आएका २४ वर्षीय आशिष राईको मृत्यु भएको मोरङका ट्राफिक प्रहरी प्रमुख राजन लम्सालले जानकारी दिए । दुर्घटनामा चालक राई गम्भीर घाइते भएका थिए । उनलाई उद्धार गरेर उपचारका लागि विराट मेडिकल कलेज पुर्याइएको भएपनि केही समयपछि नै उनको मृत्यु भएको हो ।
बिरामीलाई अस्पताल पुर्याएर चालक घर फर्किदै गर्दा एम्बुलेन्स दुर्घटना भएको हो । तीव्र गतिका कारण अनियन्त्रित भएर एम्बुलेन्स दुर्घटना भएको हुनसक्ने ट्राफिक प्रहरीको अनुमान छ ।