विराटनगर । अन्तर विद्यालय स्तरीय हाजिरी जवाफ प्रतियोगितामा पोखरिया माध्यमिक विद्यालय र ग्रिनल्याण्ड इङ्ग्लिस स्कुल प्रथम भएका छन् । आधारभूत तहतर्फ ३२ वटा विद्यालयलाई पछि पार्दै पोखरिया र प्राथमिक तहतर्फ १६ वटा विद्यालयलाई पछि पार्दै ग्रिनल्याण्ड प्रथम भएका हुन् ।
विद्यार्थीहरूको चौतर्फी क्षमता विकास गर्ने उद्देश्यले भएको प्रतियोगितामा आधारभूत तहतर्फ मदननगर आधारभूत विद्यालय द्वितीय, सत्यनारायण माध्यमिक विद्यालय तृतीय हुँदा बाल माध्यमिक विद्यालय रानीले सान्त्वना स्थान हात पार्यो ।
त्यस्तै प्राथमिक तहतर्फ अर्पण इङ्ग्लिस स्कुल द्वितीय, एभरेष्ट इङ्ग्लिस स्कुल तृतीय हुँदा बाल विद्या मन्दिर सान्त्वना भयो । विजेता विद्यालयलाई क्रमशः २१, १५, १२ र ६ हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको छ ।
विराटनगर महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाको समन्वय तथा पोखरिया माध्यमिक विद्यालयको आयोजनामा प्रतियोगिता भएको हो ।