
विराटनगर । मोरङको लेटाङमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । सोमबार माछा मार्न भनेर निस्किएका लेटाङ नगरपालिका-९ बाह्रकोठेका ४२ वर्षीय मनबहादुर लिम्बुको मृत्यु भएको हो ।
बिहान ८ बजे घरबाट निक्लिएका लिम्बु घर नफर्किएपछि आफन्त र परिवारले खोजी सुरु गरेका थिए । मोरङ प्रहरीका अनुसार घरदेखि करिब ५ किलोमिटर दक्षिणमा रहेको जङ्गलमा राति ९ बजेतिर उनलाई मृत अवस्थामा फेला पारिएको थियो ।
घटनास्थल वरपर हात्ती हिँडेको डोबहरू देखिएका कारण उनको मृत्यु हात्तीको आक्रमणबाट भएको पत्ता लागेको प्रहरीले जनाएको छ । घटनास्थलनजिकै लिम्बुको साइकल पनि फेला परेको छ ।
कोदालो र झुल बाँधेको तथा लडिरहेको अवस्थामा साइकल फेला परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।