
विराटनगर । विराटनगर ट्रक व्यवसायी सङ्घको अधिवेशन स्थगित भएको छ । शुक्रबार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले अधिवेशनको उद्घाटन गरेका थिए । तर, सङ्घभित्र विवाद चर्किएपछि १७ औं अधिवेशन तथा ३३ औं साधारणसभा स्थगित भएको हो ।
साधारणसभामा गणपूरक सदस्य सङ्ख्या नपुगेपछि नयाँ नेतृत्व चयन हुन सकेन । सङ्घमा आवद्ध दुई सय ५१ जना सदस्यहरू मध्ये साधारणसभामा एक सय ४४ जना मात्रै उपस्थित भएपछि नरबहादुर भण्डारी नेतृत्वको पक्षले उपस्थितिमा हस्ताक्षर नगर्दा अधिवेशन स्थगित भएको बताइएको छ ।
अधिवेशनबाट वर्तमान कार्यसमितिका उपाध्यक्ष सञ्जीव सिग्देल र भण्डारी समूहले छुट्टाछुट्टै प्यानल बनाएर अध्यक्षसहितको पदमा उम्मेदवारी दिने तयारी गरेका थिए । तर उपस्थितिमै हस्ताक्षर नभएपछि कोरम नपुगेर अधिवेशन स्थगित भएको थियो ।
सिग्देल पक्षले जित्ने पक्का भएपछि भण्डारी समूहले उपस्थितिमा हस्ताक्षर नगरेको केही व्यवसायीहरूको दाबी छ । चाँडै कार्यसमितिको बैठक बसेर अधिवेशनको नयाँ मिति घोषणा गर्ने सङ्घले जनाएको छ ।
कार्यक्रममा राष्ट्रियसभा सदस्य तथा नेकपा माओवादी केन्द्रका प्रमुख सचेतक गोपी अछामी, कोशी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी, नेपाल ट्रक यातायात व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष हिरालाल श्रेष्ठ र मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलगायतको उपस्थिति रहेको थियो ।

संगालोखबर 













