
विराटनगर । सुनसरीको इटहरीमा महिलाको शङ्कास्पद मृत्युपछि आफन्तलाई खबर नै नगरी दाहसंस्कार गरेको घटना बाहिरिएको छ । घटना गत फागुन ९ गतेको हो ।
२१ वर्षीया चन्दा चौधरी इटहरी उपमहानगरपालिका-६ विकास चोकमा ६४ वर्षीय समयलाल गुप्ताले भाडामा लिएको घरमा घरेलु श्रमिकको रूपमा काम गर्थिन् । उनको अचानक मृत्यु भएपछि गुप्ताले आफन्तलाई खबर नगरी दाहसंस्कार गरेपछि घटनाले नयाँ मोड लिएको हो ।
आफन्तका अनुसार चन्दा श्रीमानसँग सम्बन्ध विच्छेद भएपछि गुप्ताको घरमा काम गर्न बसेकी थिइन् । गुप्ताले उनलाई शारीरिकसँगै मानसिक यातना दिने गरेको आफन्तको भनाइ छ ।
घटना शङ्कास्पद भएको भन्दै आफन्तले जाहेरी दिएपछि गुप्तालाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ । गुप्ताका अनुसार गत फागुन ९ गते चन्दा अचानक बिरामी परेपछि उपचारका लागि इटहरीस्थित पञ्चकोशी हेल्थ सर्भिस लगिएको र अवस्था गम्भीर भएपछि विराटनगरको कोशी अस्पताल लगिएको थियो । चन्दालाई कोशी अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए ।
गुप्ताले अस्पतालबाट शव बुझे । तर आफन्तलाई खबर गरेनन् । उनले सुटुक्क इटहरीस्थित बूढी खोलामा लगेर चन्दाको दाहसंस्कार गरे । दाहसंस्कारको भोलिपल्ट मात्रै आफन्तले अरु कसैको माध्यमबाट चन्दाको मृत्यु भएको र दाहसंस्कार पनि भइसकेको खबर थाहा पाए । त्यसपछि घटना शङ्कास्पद भएको भन्दै प्रहरीमा जाहेरी दिएका थिए ।
अहिले प्रहरीले घटनाका सम्बन्धमा सूक्ष्म अनुसन्धान गरिरहेको छ । इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीले यस सम्बन्धमा थप अनुसन्धान भइरहेको बताए । उनका अनुसार घटनाका सम्बन्धमा अहिलेसम्म केही खुल्न सकेको छैन ।
‘हामी अनुसन्धान कै क्रममा छौं’, डीएसपी भण्डारीले संगालोखबरसँग भने, ‘कोशी अस्पतालसँग विवरण माग्ने काम भइरहेको छ । त्यसपछि थप कुरा खुल्छ ।’