विराटनगर । नेकपा एमाले मोरङको नयाँ नेतृत्व चयनका लागि हुन लागेको मतदानको समय सारिएको छ । आज बिहान ९ बजेबाट सुरु हुने भनिएको मतदान प्रक्रिया सहमतिको प्रयासका लागि भन्दै सारिएको हो ।
शनिबारदेखि विराटनगरमा सुरु भएको १० औँ अधिवेशन सोमबार नै सम्पन्न गर्ने तयारी थियो । तर सहमति जुट्न नसकेपछि अधिवेशन लम्बिएको छ । २ बजेबाट पनि मतदान सुरु हुने सम्भावना न्यून रहेको जनाइएको छ ।
पाँच पदाधिकारीसहित एक सय ६५ जनाको जिल्ला कमिटीका लागि लागि तीन सय २५ जनाले उम्मेदवारी दिएका छन् । मनोनयन फिर्ताको समय अझै सकिएको छैन । मनोनयन फिर्ता भएपछि मात्रै मतपत्र छपाइ हुने र मतदानको प्रक्रिया सुरु हुने जनाइएको छ ।
अधिवेशनमा संस्थापन पक्षबाट अध्यक्षमा राजकुमार ओझा, उपाध्यक्षमा शान्ति लिम्बू भुजेल, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र ईर्जालाल राजवंशीको उम्मेदवारी परेको छ ।
इतर पक्षबाट अध्यक्षमा अजम्बर राई, उपाध्यक्षमा सागर थापा, सचिवमा सोमराज थापा, उपसचिवमा सन्तोष बान्तवा र उषा झाले उम्मेदवारी दिएका छन् । अधिवेशनका लागि नौ सय ११ जना प्रतिनिधि छन् ।