
विराटनगर । प्रि-मनसुन सुरु भएसँगै देशभरको तापक्रम बढ्न थालेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज विराटनगरको अधिकतम तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरेको छ ।
यस्तै जनकपुरको पनि अधिकतम तापक्रम ३३ डिग्री सेल्सियससम्म पुग्ने महाशाखाको अनुमान छ । महाशाखाले भैरहवाको अधिकतम तापक्रम ३४ डिग्री सेल्सियससम्म पुग्ने अनुमान गरेको छ ।
आज सबैभन्दा कम तापक्रम जुम्लामा माइनस २ डिग्री सेल्सियससम्म रहने जनाइएको छ । यस्तै काठमाडौँको तापक्रम २५ डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ ।
अङ्ग्रेजी महिनाको मार्चदेखि सुरु हुने प्रि-मनसुन मे महिनासम्म रहन्छ । प्रि-मनसुन भन्नाले वर्षायाम सुरु हुनुभन्दा अघिको समयलाई बुझिन्छ । यो तीन महिने प्रि-मनसुनमा देशभरको तापक्रम बढ्ने, हावाहुरी चल्ने, मेघ गर्जन र चट्याङसहित वर्षा हुने मौसमविद् बताउँछन् ।

संगालोखबर 













