विराटनगर । विराटनगरको ऐतिहासिक रात्रिकालीन विराट गोल्डकप फुटबल प्रतियोगिताको नवौँ संस्करण आजबाट सुरु हुँदैछ । सहिद रङ्गशालामा हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक रिजालको मोरङ एफसी र भारतको साउथर्न समिति फुटबल क्बल कोलकाताबीच प्रतिस्पर्धा हुने छ ।
‘विराटनगरको साथ, फुटबलको विकास’ भन्ने नाराका साथ हुन लागेको प्रतियोगिताको सबै तयारी पूरा भएको विराट गोल्डकपका संयोजक नवीन रिजालले बताए । खेल हेर्नका लागि टिकटदर २ सय रुपैयाँ तोकिएको छ । प्रतियोगितामा भारतीय दुईसहित १० वटा टोलीको सहभागिता रहने छ ।
एउटा टिकट काट्दा दुई हजार रुपैयाँसम्मको फाइदा हुने आयोजकको भनाइ छ । गोल्डकप सम्पन्न गर्न एक करोड ३५ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । प्रतियोगिताको विजेता टिमलाई ११ लाख र उपविजेतालाई पाँच लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने छ ।
उत्कृष्ट प्रशिक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्ताले १५-१५ हजार रुपैयाँ पाउने छन् । पुरस्कारबापत दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई ११ हजार र सर्वोकृष्ट खेलाडीलाई ५१ हजार प्रदान गरिने आयोजकले जनाएको छ । आजबाट सुरु हुने प्रतियोगिता आगामी फागुन २८ गतेसम्म सञ्चालन हुने छ ।