धनकुटा । धनकुटामा १४ वर्षीया दुई बालिकालाई अपहरण गरि बन्धक बनाएर जबरजस्ती करणी गरेको अभियोगमा दुई युवक पक्राउ परेका छन् । शनिबार चौबिसे गाउँपालिका-३ बाट उनीहरू पक्राउ परेका हुन् ।
धनकुटाका प्रहरी प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार दुई जना बालिकाको उद्धार गरिएको छ । चौबीसे गाँउपालिका-३ गढी गाउँका १९ वर्षीय सनिश याख्खा र मोरङको उर्लाबारी नगरपालिका-५ सूर्य चोकका १९ वर्षीय प्रतीक विकलाई पक्राउ गरिएको खनालले जानकारी दिए ।
एक जना स्थानीय र एक जना उर्लाबारीकै बालिकालाई ललाइफकाइ गरेर तीन दिनदेखि याख्खाको घरमा बन्धक बनाएर राखेको भन्दै स्थानीयले प्रहरीलाई खबर गरेका थिए । जानकारी पाउनासाथ प्रहरी चौकी मुढेवासबाट खटिएको प्रहरी टोलीले दुई जनालाई नियन्त्रणमा लिएर बालिकाको उद्धार गरेको थियो ।
उनीहरूमाथि अपहरण, शरीर बन्धक र जबर्जस्ती करणी कसूरमा जाहेरी लिइ अनुसन्धान सुरु गरिएको डीएसपी खनालले बताए । डीएसपी खनालका अनुसार उनीहरू कर्तव्य ज्यान मुद्दामा फैसला तोकिएर फरार रहेको समेत खुलेको छ ।
जिल्ला अदालत मोरङबाट गत जेठ नौ गते भएको फैसला अनुसार याख्खालाई आठ वर्ष छ दिन र विकलाई छ वर्ष दुई महिना छ दिन कैद सजाय तोकिएको थियो । उनीहरूका सम्बन्धमा प्रहरीले थप अनुसन्धान सुरु गरेको छ ।