
विराटनगर । विराटनगर महानगरपालिका-७ का वडा सदस्य ५१ वर्षीय कल्याण लामिछानेले मादक पदार्थ सेवन (मापसे) गरेर चलाएको स्कुटर दुर्घटनामा घाइते भएका एक जनाको मृत्यु भएको छ । वडा सदस्य लामिछानेले चलाएको को २९ प ७०८२ नम्बरको स्कुटर गत फागुन ११ गते रोकेर राखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको थियो ।
विराटनगर-७ हाटखोलास्थित भित्री सडकको साइडमा रोकेर राखिएको बागमती प्रदेश ०३-००१ ख १७१२ नम्बरको ट्रकमा राति ९ः२० बजेतिर स्कुटर ठोक्किँदा वडा सदस्य लामिछानेसहित विराटनगर-७ का ५० वर्षीय किरण तिवारी घाइते भएका थिए ।
होटखोलाबाट शनिहाटतर्फ आउँदै गरेको स्कुटर ट्रकको पछाडि ठोक्किएर भएको दुर्घटना घाइते भएका दुबै जनाको न्युरो अस्पतालमा उपचार भइरहेको थियो । मोरङ प्रहरीका अनुसार तिवारीको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।
प्रहरीका अनुसार स्कुटर चालक लामिछानेको स्वास्थ्य सुधारोन्मुख रहेको छ । परीक्षणका क्रममा लामिछानेले मापसे गरेर स्कुटर चलाएको पत्ता लागेको प्रहरीले जनाएको छ । प्रहरीले घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु गरेको छ ।