विराटनगर । विराटनगरको महेन्द्र मोरङ कलेजमा नेपाल विद्यार्थी सङ्घ (नेविसंघ)का विद्यार्थीहरूबीच झडप भएको छ । आज बिहान संस्थापन र शेखर कोइराला पक्षका विद्यार्थीहरूबीच झडप भएको हो । झडपमा तीन जना घाइते भएका छन् ।
नेविसङ्घ मोरङका जिल्ला सभापति सरोज पोखरेल, सचिव गुड्डु साह र महेन्द्र मोरङमै अध्ययनरत नेविसङ्घ केन्द्रीय सदस्य पूजा विश्वास घाइते भएका जनाइएको छ । घाइते तीनै जना इतर पक्षका हुन् । उनीहरूको नोवेल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
आसन्न स्ववियु निर्वाचनको भागबन्डाको विषयमा छलफल गर्न गएका बेला पोखरेलमाथि हातपात भएको बताइएको छ । पोखरेल कोइराला पक्षका नेता हुन् भने स्ववियु सभापति जसवन्त पौडेल सभापति शेरबहादुर देउवा पक्षका नेता हुन् ।
स्ववियु सचिव एलिश ठकुरी, प्रशान्त यादवलगायत समूहले आफूमाथि कुटपिट गरेको पोखरेलको भनाइ छ । धारिलो हतियारसहित केही विद्यार्थी विवादमा उत्रिएपछि झडपको अवस्था सिर्जना भएको बताइएको छ । क्याम्पसमा इकाई गठन विषयलाई लिएर नेविसङ्घमा विवाद भएको जनाइएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख नारायण प्रसाद चिमरियाले विद्यार्थीहरूको दुई समूहबीच विवाद भएको बताए । ‘क्याम्पस भित्रको कुरा भएकाले क्याम्पस प्रशासनलाई नै सोध्नुपर्छ’, चिमरियाले संगालोखबरसँग भने, ‘हामीले विद्यार्थीहरूबीचमा बाहिर झडप नहोस् भनेर सुरक्षा सर्तकता अपनाएका थियौं। अहिले सामान्यीकरण भइसकेको छ । अवस्था सामान्य छ ।’ सो विषयमा कुनै उजुरी समेत नआएको मोरङ प्रहरीले जनाएको छ ।