
विराटनगर । मोरङको बुढीगङ्गा गाउँपालिका-५ हात्तीमुडामा सिटी सफारी र मोटरसाइकल ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ । आज बिहानको राति करिब २ः३० बजे भएको दुर्घटनामा मोटरसाइकल चालक बुढीगंगा-५ का २८ वर्षीय फिरोजकुमार सिक्दारको मृत्यु भएको हो ।
प्रहरीका अनुसार हात्तीमुडाबाट पोठिया चोकतर्फ जाँदै गरेको प्रदेश १-०२-००३ ह ५०१७ नम्बरको सफारी र विपरीत दिशाबाट आउँदै गरेको ज १२ प ६८७२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका सिक्दारको उपचारका क्रममा विराट टिचिङ अस्पतालमा करिब २ः३० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा सफारी चालक सुनसरीको दुहबी नगरपालिका-११ का ४० वर्षीय निखिल चौधरी र सफारीमा सवार ४० वर्षीया शिलादेवी चौधरी सामान्य घाइते भएका छन् ।
उनीहरूको विराट नर्सिङ होममा उपचार भइरहेको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।