विराटनगर । सोलुखुम्बुको नेचामा जमरकट्टेलहरुको राष्ट्रिय सम्मेलन हुने भएको छ । देशभरका भारद्वाज गोत्रीय जमरकट्टेल (जमकटेल, कट्टेल, कटेल) बन्धुहरूलाई एकतावद्ध गर्न यही फागुन १५ र १६ गते राष्ट्रिय सम्मेलन गर्न लागिएको हो ।
जमरकट्टेल बन्धुहरूलाई एकतावद्ध गर्न विराटनगर, नेचा, झापा, काठमाडौँ लगायत स्थानमा करिब एक दर्जन बढी संस्थाहरू निर्माण भएका छन् । सम्मेलनबाट ती संस्थाहरूबीच समन्वय गरेर जमरकट्टेलहरुको एउटै केन्द्रिय समिति बनाउन तदर्थ समिति निर्माण गर्ने र केन्द्रिय कार्यालय तय गर्ने तयारी गरिएको छ ।
सम्मेलनले जमरकट्टेलहरुको वंशावली पुर्नलेखन गर्न सम्पादन समिति पनि निर्माण गर्ने सम्मेलन मूल समारोह समिति संयोजक देवेन्द्र जमरकट्टेलले जानकारी दिए । ‘नेपालका मात्र नभई विदेशबाट पनि जमरकट्टेल बन्धुहरू सम्मेलनमा आउँदै हुनुहुन्छ, हामी सबैजना भेला भई छलफल गरेर थप एकतावद्ध भई अघि बढ्ने अभियानमा छौँ,’ संयोजक जमरकट्टेलले भने, ‘यो सम्मेलनले बन्धुहरूलाई एकतावद्ध बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ ।’
सोलुखुम्बुको नेचासल्यान गाउँपालिकाको नेचामा ठूलो संख्यामा जम्मरकटेलहरुको बसोवास छ । सोही स्थानमा राष्ट्रिय सम्मेलन आयोजना गरेर जमरकट्टेलहरु थप एकतावद्ध हुन लागेका हुन् ।
सम्मेलनमा सोलुखुम्बुसहित मोरङ, धनकुटा, इलाम, झापा, उदयपुर, सिन्धुपाल्चोक, नुवाकोट, धादिङ, काठमाडौँ, चितवन, लगायत जिल्लाबाट प्रतिनिधिहरू सहभागि हुने जमरकट्टेल वंश एकता प्रतिष्ठान विराटनगरका अध्यक्ष कुमारमणी जमरकट्टेलले जानकारी दिए ।