संगालोखबर


विराटनगर । कोशी प्रदेशमा एक वर्षको अवधिमा ३४ जना महिलाको हत्या भएको तथ्याङ्क सार्वजनिक भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले सार्वजनिक गरेको तथ्याङ्क अनुसार परिवारजनबाटै ३४ जना महिलाको हत्या भएको हो ।

तथ्याङ्क अनुसार ओखलढुङ्गामा तीन, भोजपुरमा एक, इलाममा तीन, झापामा पाँच, सोलुखुम्बुमा एक, पाँचथरमा दुई, सङ्खुवासभामा एक, मोरङमा चार, सुनसरीमा तीन, ताप्लेजुङमा एक, तेह्रथुममा तीन र उदयपुरमा सात जना महिलाको हत्या भएको हो ।

Advertisement

२०८० पुस १६ गतेदेखि २०८१ पुस १६ गतेसम्म अभिलेखीकरण भएका घटना हेर्दा कोशीमा गतवर्षको तुलनामा यो वर्ष मानव अधिकार उल्लङ्घनका घटनामा वृद्धि भएका इन्सेकले जनाएको छ । शारीरिक हिंसाका घटनाहरूसँग सम्बन्धित मानव अधिकार उल्लङ्घनमा यस वर्ष कोशी प्रदेश ३६ दशमलव १८ प्रतिशत सूचकाङ्क मूल्यसहित चौथो स्थानमा रहेको इन्सेक कोशी प्रदेशका प्रलेख अधिकृत पुण्य अधिकारीले बताए ।

इन्सेकले ५३ ओटा सूचकमार्फत गरेको विश्लेषणका आधारमा सन् २०२३ मा ३३ दशमलव ३२ प्रतिशत मानव अधिकार उल्लङ्घन सूचकाङ्क रहेकोमा २०२४ मा कोशी प्रदेशको मानव अधिकारको अवस्था खराब देखिएको छ ।

यस वर्ष कोशीमा राज्य पक्षबाट गिरफ्तारीका घटनामा दुई जना, कुटपिटका घटनामा चार जना, कुटपिटबाट घाइते एक जना, गोली प्रहारबाट घाइते तीन जना, धारिलो हतियार प्रहारबाट ११ जना, झडपमा प्रहरीको लाठी प्रहारबाट ६ जना घाइते भएका छन् । यस वर्ष भेला हुन पाउने अधिकारबाट चार जना वञ्चित भएको इन्सेकले उल्लेख गरेको छ ।

बलात्कारका घटनामा दुई सय २५ जना, सामूहिक बलात्कारका घटनामा तीन जना, यौन दुर्व्यवहारका घटनामा ९४ जना, बाल विवाहका घटनामा तीन जना, बेचविखनका घटनामा पाँच जना, शिक्षण संस्थामा दिइएको शारीरिक सजायका घटनामा चार जना, नवजात शिशु हत्यामा ६ जना, अत्याचारका घटनामा १२ जना गरी तीन सय ५२ जना पीडित भएका छन् ।

कोशी प्रदेशमा अन्य पक्षबाट मोसो दलेका घटनामा तीन जना, कुटपिटबाट घाइते घटनामा ६ जना, गोली प्रहारबाट घाइते घटनामा दुई जना, बम विस्फोटबाट घाइते घटनामा दुई जना, धारिलो हतियार प्रहारबाट घाइते घटनामा १७ जना र झडपमा ३३ जना घाइते भएको इन्सेकले अभिलेख गरेको छ ।

यस वर्ष अन्य पक्षबाट ३१ जनाको कुटपिट गरी हत्या, बम विष्फोटमा दुई जनाको मृत्यु, सेवन गर्न दिइएको विषबाट दुई जनाको मृत्यु, धारिलो हतियार प्रहारबाट ३४ जनाको मृत्यु भएको छ । धम्कीका घटनामा ६ जना र जातीय विभेदका घटनामा सात जना पीडित भएको इन्सेकले सन् २०२४ मा अभिलेखीकरण गरेको छ ।

कोशी प्रदेशमा रहेका जिल्ला कारागारको क्षमता तीन हजार एक सय ८४ रहेकोमा छ हजार एक सय ७५ जनालाई राखिएको छ । यो वर्ष बालसुधार गृह विराटनगरमा दुई सय ४४ जना बालकलाई राखिएको छ । सन् २०२४ देखि इन्सेकले नेपाल मानव अधिकार वर्ष पुस्तकमा जलवायु परिवर्तन, बढ्दो वातावरणीय प्रदूषण, मानव अधिकार र वातावरणको अधिकारलाई समेत उठान गरेको छ ।

सन् २०२४ मा कोशी प्रदेशमा वायु प्रदुषण, पानीको मुहान सुक्नु, बाढी पहिरोलगायत प्राकृतिक विपद्का कारण कोशी प्रदेशमा १८ हजार पाँच सय ३२ जनाले बसाइँसराइ गरेका इन्सेकले उल्लेख गरेको छ । कोशी प्रदेशमा भएका एक सय २६ ओटा इँटाभट्टा र १३ ओटा सिमेन्ट उद्योगका कारण वायु प्रदुषण बढेको इन्सेकले जनाएको छ ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!