विराटनगर । सुनसरीको दुहबीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा घाइते भएकी महिलाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी इटहरी-५ की ५० वर्षीया श्रीमाया बुढाथोकीको उपचारका क्रममा विराट मेडिकल कलेजमा मृत्यु भएको हो ।
सोमबार दिउँसो १२ बजेतिर कोशी लोकमार्ग अन्तरगत दुहबी-८ स्थित हुलास फ्याक्ट्री अगाडि दुर्घटना भएको थियो । विराटनगरबाट इटहरीतर्फ जाँदै गरेको को १ ख ७०२३ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको प्रदेश १-०२-०५६ प ५५१३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक इटहरी-५ का २१ वर्षीय नवराज बुढाथोकी गम्भीर घाइते भएका छन् । दाहिने खुट्टा र शरीरको विभिन्न भागमा चोट लागेका नवराजको विराट नर्सिङ होममा उपचार भइरहेको प्रहरीले जनाएको छ । उनीहरू आमा-छोरा हुन् ।
बस चालक धरान उपमहानगरपालिका-८ का ३९ वर्षीय बुद्धि तामाङलाई प्रहरीले पक्राउ गरेको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।