धनकुटा । धनकुटाका सात पालिकामध्ये धनकुटा नगरपालिकाको कार्यसम्पादन अब्बल देखिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा धनकुटा नगरपालिका अब्बल देखिएको हो ।
धनकुटा नगरपालिका ६७.६ अङ्क पाउँदै पहिलो हुँदा ३५.७ अङ्क पाएर छथर जोरपाटी गाउँपालिका सातौँ भएको छ । धनकुटा नगरपालिका गत आर्थिक वर्षको मूल्याङ्कनमा तेस्रो भएको थियो । यसअघि छथर जोरपाटी गाउँपालिका छैटौँ भएको थियो ।
गतवर्ष सबैभन्दा कम अङ्क पाएको पाख्रीबास नगरपालिका यसपटक ६४.१ अङ्क पाउँदै दोस्रो भएको छ । गतवर्ष पाँचौ स्थानमा रहेको सहिदभूमि गाउँपालिका ५७.१ अङ्क पाउँदै तेस्रो भएको छ भने यसअघि पनि चौथो स्थानमा रहेको महालक्ष्मी नगरपालिका ५५.३ अङ्क पाउँदै यसपटक पनि चौथो भएको छ ।
गतवर्ष प्रथम भएको चौबिसे गाउँपालिका यसपटक ५४.२ अङ्क पाउँदै पाँचौँ भएको छ भने यसअघि दोस्रो भएको साँगुरीगढी गाउँपालिका ४४.१ अङ्क पाउँदै यसपटक छैटौँ भएको छ ।
आयोगले विभिन्न १७ वटा सूचकहरूको आधारमा मूल्याङ्कन गर्छ । ती सूचकहरूमा पालिकाले समयमै सभामा बजेट पेश गरे/नगरेको, पारित गरे/नगरेको, खर्च अवस्था, बेरुजु, लेखा परीक्षणले औँल्याएको बेरुजु, स्थानीय सञ्चित कोष व्यवस्था प्रणालीको प्रयोग, आवधिक योजना गरे/नगरेको, राजस्वको विभाजन गरे/नगरेको लगायत पर्छन् ।
धनकुटा नगरपालिका मेयर चिन्तन तामाङले सबै कर्मचारी, नगरपालिकावासी र सरोकारवालाको सहयोगमा धनकुटा कार्यसम्पादन मूल्याङ्कनमा अब्बल हुन सकेको बताए । आगामी दिनमा थप उत्कृष्ट बनाउन आफू लागिपर्ने र सबैको साथ सहयोगको अपेक्षा गरेको मेयर तामाङले उल्लेख गरे ।