संगालोखबर


विराटनगर । विराटनगर-४ र ५ को सिमानामा पर्ने गणेश चोकदेखि केसलियासम्मको सडक आगामी जेठसम्ममा कालोपत्रे हुने नगरप्रमुख नागेश कोइरालाले दावी गरेका छन् । आज महानगरपालिकाको सार्वजनिक सुनुवाइ कार्यक्रममा बोल्दै मेयर कोइरालाले यस्तो दावी गरेका हुन् ।

हुलाकी राजमार्ग अन्तरगत पर्ने करिब तीन किलोमिटर सडक दशक बढी समयदेखि अलपत्र छ । उक्त सडकको काम महानगरकै समन्वय र दबाबका भइरहेको उल्लेख गरे ।

Advertisement

उनले आफ्नो कार्यकालमा सुरु गरेका एक दर्जनभन्दा बढी ठूला बहुवर्षीय योजनाहरू चालु आर्थिक वर्षभित्रै सम्पन्न गर्ने सुनाए ।  सीमित स्रोत र साधनको बावजुत महानगरवासीको असीमित चाहना पूरा गर्न लागिपरेको उनको भनाइ थियो ।

मेयर कोइरालाले विराटनगरको विकासमा अहोरात्र खटिँदासमेत महानगरवासीले जस नदिएको गुनासो गरे । उनले विराटनगरको भौतिक संरचनाको विकासले गति लिएको उल्लेख गरे ।

मेयर कोइरालाले  बहुवर्षीय योजनाअन्तर्गत १७ करोड १३ लाख रुपैयाँको लागतमा विराटनगरलाई जन्मथलो र कर्मथलो बनाएका सातजना प्रधानमन्त्रीको शालिकसहित निर्माण भइरहेको प्रधानमन्त्री पार्कको काम हालसम्म ६५ प्रतिशत सम्पन्न भइसकेको बताए ।

तीन करोड ९८ लाख रुपैयाँको लागतमा विराटनगर-२ मा सन्ध्याकालीन आरतीस्थलको निर्माण ८० प्रतिशत, १४ करोड ७५ लाख रुपैयाँको लागतमा महानगरको सुविधासम्पन्न प्रशासनिक भवन ५० प्रतिशत,  विराटनगर-१४ मा बहुवर्षीय योजना अन्तन्तर्गत ६ करोड १६ लाख रुपैयाँको लागतमा निर्माण भइरहेको रानीपोखरीसहित हरियाली पार्कको काम ७० प्रतिशत सम्पन्न भएको उनले उल्लेख गरे ।

यस्तै सात करोड ३७ लाख रुपैयाँको लागतमा विराटनगर-१४ मै निर्माण भइरहेको मण्ठापोखरीको पनि काम ६५ प्रतिशत सम्पन्न भइसकेको मेयर कोइरालाको भनाइ थियो ।

उनका अनुसार एक करोड ३२ लाख रुपैयाँको लागतमा जीर्णोद्धार भइरहेको पुष्पलाल चोक सडकको पनि ८० प्रतिशत काम सकिएको छ । विराटनगर-२ स्थित त्रिभुज मार्गको काम ७० प्रतिशत सम्पन्न भएको छ । जसको निर्माण लागत तीन करोड ३८ लाख रुपैयाँ रहेको छ ।

डुबान नियन्त्रण गर्ने अभियानअन्तर्गत वडा नम्बर-३ स्थित प्रतीक मार्ग, मानगढ मार्ग, आस्थामार्ग, फिफा मार्ग, मितेरी मार्ग, त्रिमार्गमा कभरसहित आरसीसी नाला, रिटेरिङवाल तथा कालोपत्रे निर्माण कार्य ४० प्रतिशत सम्पन्न भइसकेको उनको भनाइ थियो ।

जसको लागत चार करोड रुपैयाँ रहेको छ । पाँच करोड ३८ लाख रुपैयाँको लागतमा विराटनगर वडा नम्बर-५ र ६ को शान्तिचोकदेखि विएफएम हुँदै केशलिया रोडसम्म नाला, कल्भर्ट, नालामा स्ल्याबसहित कालोपत्रे गर्ने कार्य सम्पन्न भइसकेको मेयर कोइरालाले बताए ।

राजवंशी चोक पश्चिम वडा नम्बर-४ को पुलचोकदेखि नोवेलसम्म र केशलिया रोडदेखि ११ र १२ वडा नम्बर हुँदै जोगबनी-विराटनगर सडकअन्तर्गत पूर्वाञ्चल बालआश्रम दक्षिणसम्मको करिब पाँच किलोमिटर सडक कालोपत्रे गर्ने कार्य ५० प्रतिशत सम्पन्न भइसकेको उनको भनाइ छ ।

तीन करोड ८२ लाख रुपैयाँ निर्माण भइरहेको सो सडक यसै आर्थिक वर्षभित्र सम्पन्न हुने मेयर कोइरालाले बताए । विराटनगर वडा नम्बर-१३ को विराटनगर आँखा अस्पताल अगाडिको सडकमा नालाको काम ९५ प्रतिशत सकिएको र स्ल्याब र कालोपत्रे गर्न मात्रै बाँकी रहेको उनले बताए ।

छ करोडभन्दा बढीको बहुवर्षीय योजनाअन्तर्गत विराटनगर-८ स्थित विश्वकर्मा चोकदेखि दक्षिण हुँदै स्वागत चोक पश्चिमको नाला र कल्भर्ट निर्माणको काम ८० प्रतिशत सम्पन्न भएको मेयर कोइरालाले उल्लेख गरे ।

बहुवर्षीय योजनाअन्तर्गतको १२ करोड लागत रहेको महानगर बहुप्राविधिक शिक्षालयको भवन निर्माणको काम पनि ५० प्रतिशतभन्दा बढी सम्पन्न भइसकेको उनले बताए । बहुवर्षीय योजनाअन्तर्गत सञ्चालन भइरहेका सबै ठूलो परियोजनाहरू चालु  आर्थिक वर्षभित्रै सम्पन्न गर्ने गरी तीव्र रूपमा काम भइरहेको मेयर कोइरालाको भनाइ थियो ।

मेयर कोइरालाले १० वर्षमा हुन नसकेको विकास निर्माणको काम एक वर्षको अवधिमा भएको दाबी गरे । मेयर कोइरालाले समग्र विराटनगर महानगरपालिका क्षेत्रको विकास निर्माणको काम भइरहेको बताए ।

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।
Advertisement

तपाईको प्रतिक्रिया

error: Content is protected !!