
विराटनगर । सुनसरीको इटहरी उप-महानगरपालिका-१ आँपगाछीमा मोटरसाइकल दुर्घटनामा घाइते भएका पुरुषको मृत्यु भएको छ । मोटरसाइकल चालक ताप्लेजुङ मिरिङ्दिन गाउँपालिका-१ का ३५ वर्षीय गणेश लिम्बूको मृत्यु भएको हो ।
गत माघ २७ गते कोशी लोकमार्गमा धरानबाट इटहरीतर्फ आउँदै गरेको कोशी प्रदेश-१-०३-००१ प ३३०७ नम्बरको मोटरसाइकल र सहायक राजमार्गबाट मुख्य राजमार्ग निस्किएर धरानतर्फ जान खोजेको प्र-१-०२-००२ च ४८४१ नम्बरको म्याजिक भ्यान एकआपसमा ठोक्किएका थिए ।
दुर्घटनामा गणेशसँगै मोटरसाइकल पछाडि सवार सोही स्थानकी ३५ वर्षीया मीना लिम्बु घाइते भएकी थिइन् । उनीहरूको विराट नर्सिङ होममा उपचार भइरहेको थियो ।
घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालकको उपचारका क्रममा सोमबार मृत्यु भएको प्रहरीले जनाएको छ । मीनाको सोही अस्पतालमा उपचार भइरहेको छ । म्याजिक भ्यान चालक इटहरी-५ का ३९ वर्षीय मुक्ति बहादुर गुरुङ प्रहरी नियन्त्रणमा छन् ।