
विराटनगर । मोरङका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । शनिबार दिउँसो विराटनगर-१० सोमबारे चोकमा मोटरसाइकलले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको हो ।
दुर्घटनामा स्कुटर चालक मोरङको जहदा गाउँपालिकाकी अन्दाजी ४० वर्षीया फुदो राजवंशीको मृत्यु भएको हो । रानीतर्फ जाँदै गरेको प्रदेश १-०२-०४८ प ७०७० नम्बरको मोटरसाइकलले पूर्वतर्फ बाटो क्रस गर्दै गरेको प्रदेश १-०२-०४६ प २३१३ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक बुढीगंगा गाउँपालिका-४ का १९ वर्षीय मोहमद सहिल मियाँ र पछाडि सवार १७ वर्षीय मोहमद जाहिर घाइते भएका छन् । उनीहरूको शरीरको विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ । उनीहरूको कोशी अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएकी राजवंशीलाई उपचारका लागि कोशी अस्पताल पठाइएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए । तीब्र गतिमा रहेको मोटरसाइकलका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
यसैगरी मोरङको बेलबारी-५ माथिल्लो कसेनीमा मोटरसाइकलले ठक्कर दिँदा ६५ वर्षीय उखिलाल चौधरीको मृत्यु भएको छ । गाई चराएर घर फर्कने क्रममा को १७ प ७१९ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा उनी घाइते भएका थिए ।
उनको उपचारका क्रममा नोबेल अस्पताल विराटनगरमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकल चालक बेलबारी नगरपालिका-५ का ५६ वर्षीय राजेन्द्र चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको छ ।