
विराटनगर । सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । बर्जू गाउँपालिका-४ हसनपुर स्थित भित्री पक्की सडक खण्डमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को ३४ प ६७६१ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो ।
दुर्घटनामा मोटरसाइकल चालक सोही स्थानका २८ वर्षीय रूपेश कुमार चौधरीको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मोटरसाइकल आफैँ अनियन्त्रित भएर दुर्घटना हुँदा चौधरीको घटनास्थलमा नै मृत्यु भएको हो ।
उनले ट्राफिक नियम उल्लङ्घन गर्दै हेलमेट नलगाई मोटरसाइकल चलाएको पाइएको प्रहरीले जनाएको छ । मोटरसाइकल इलाका प्रहरी कार्यालय सितागंजको नियन्त्रणमा छ । दुर्घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।