विराटनगर । सुनसरीमा भारतीय नम्बर प्लेटको स्कारपियोबाट दुई सय ९६ किलो गाँजा बरामद भएको छ । आज बिहानको राति देवानगन्ज गाउँपालिका-७ सिनवारीमा प्रहरीको चेकिङबाट भागेको गाडीबाट गाँजा बरामद भएको हो ।
इलाका प्रहरी कार्यालय सुनसरी चिमडीबाट खटिएको प्रहरी टोलीले गढी गाउँपालिका-४ छिटाहा स्थित नहरको बाटोमा रोक्न खोज्दा भागेको एचआर ७० इ ९५०२ स्कारपियो इलाका प्रहरी कार्यालय हरिनगरले रोक्न खोज्दा पनि भागेको थियो ।
‘गाँजा ओसार-पसार हुँदैछ भन्ने हामीलाई सूचना आयो । त्यसपछि हामीले दक्षिणी भेगका नाकाहरूमा सक्रियता बढायौँ’, सुनसरीका प्रहरी प्रवक्ता डीएसपी रामप्रसाद तिमल्सिनाले संगालोखबरसँग भने, ‘छिटाहाको बाटो हुँदै एउटा स्कारपियो गयो । चिमडिले चेक पोइन्ट थापेको थियो, त्यसलाई हान्दै अगाडि बढ्यो । त्यसपछि हरिनगरबाट खटिएको प्रहरीले गाडीलाई पछ्यायो । खोज्दै जाँदा देवानगन्ज-७ मा सडकबाट झरेको अवस्थामा गाडी भेटियो ।’
स्कारपियोबाट १० पोका गाँजा बरामद भएको र त्यसकै छेउबाट थप चार पोकासहित दुई सय ९६ किलो गाँजा बरामद भएको उनले बताए । यसैगरी स्कारपियोको स्कटिङमा रहेको प्रदेश २-०३-००९ प ०९९७ नम्बरको मोटरसाइकललाई पनि नियन्त्रणमा लिएको डीएसपी तिमल्सिनाले जानकारी दिए ।
‘एउटा मोटरसाइकल पनि नियन्त्रणमा लिएका छौँ’, उनले भने, ‘त्यो पनि डुब्लिकेट नम्बरवाला मोटरसाइकल होकी जस्तो शङ्का छ । अनुसन्धान पछि सबै कुरा खुल्छ ।’ स्कारपियो चालक र मोटरसाइकल चालक फरार रहेकाले खोजी कार्य भइरहेको उनले जानकारी दिए ।