धनकुटा । धनकुटाका माझी समुदायको पुर्ख्यौली पेशा सङ्कटमा पर्दै गएको छ । माछा मारेर जिविकोपार्जन गर्दै आएको समुदाय पेशा सङ्कटमा पर्न थालेसँगै समस्यामा पर्न थालेको छ ।
यो समुदायले नदिमा माछा मार्ने र त्यसैबाट आम्दानी गर्दै आएको थियो । तर पछिल्लो समय नदिमा माछा लोप हुन थालेसँगै उनीहरूको पुर्ख्यौली पेशा पनि लोपोन्मुख हुँदै गएको हो ।
चौबिसे गाउँपालिका-४ र ५ नम्बर वडास्थित भैसेटार, डिहिटार, फलामेटार र हंसमोरङ लगायतका ठाउँमा माझी समुदायको बसोबासो छ । उनीहरूको पुर्ख्यौली पेशा नै माछा मार्ने र बेच्ने हो । नदि किनार छेउमा बस्दै आएको माझी समुदाय सीमान्तकृत जातीमा पर्दछ ।
चौबिसे-४ का राजन माझी तमोर नदिमा माछा पाउनै छाडेको बताउँछन् । नदिमा करेन्ट लगाउने, विष हाल्ने, ब्लास्टिङ गर्ने लगायतका कारणले माछा लोप हुन थालेको उनले सुनाए । जसका कारण आफूहरूको पेशा मात्र नभएर दैनिक जिविकोपार्जनको बाटो हराउँदै गएको उनले बताए ।
‘माछा मारेर नै नुन, तेल, तरकारी, खाद्यान्नको जोहो गर्नुपर्छ’, उनले भने, ‘२०७३ सालको पहिरोले ताप्लेजुङमा तमोर नदि थुनिएपछि फुटेर आएको बाढीले माछा बगायो । त्यसपछि त थप समस्या भएको छ । माछा पाउनै मुस्किल पर्छ ।’
नदिमा करेन्ट लगाउने, विष हाल्ने र ब्लास्टिङ गर्नेलाई स्थानीय सरकारले रोक्न नसकेको उनीहरूको गुनासो छ । यसमा स्थानीय सरकारले चासो देखाए आफूहरूको पेशा सङ्कटमा पर्नबाट जोगिने उनीहरूको विश्वास छ ।
नदिमा माछा नै पाउन छाडेपछि माछा मार्न प्रयोग गरिने जाल, ढोक्सा लगायतका सामग्री पनि लोप हुन थालेका छन् । ठूला माछा नभएका र जालमा साना मात्रै पर्ने हुँदा नदिमा माछा पाइन छाडेका स्थानीय महेन्द्र न्यौपाने बताउँछन् ।
नदिमा करेन्ट लगाएर, विष हालेर साथै हानी पुर्याएर माछा मार्ने गतिविधि रोक्न आवश्यक रहेको उनले बताए । जसका कारण माझी समुदायको पुर्ख्यौली पेशा सङ्कटमा पर्नबाट जोगिने उनको बुझाइ छ ।