
धनकुटा । धनकुटा नगरपालिका-४ देब्रेबासमा रहेको लक्ष्मीनारायण मन्दिरमा चोरी भएको छ । गएराति मन्दिरको मूल ढोकाको ताला फोडेर दान पेटिकामा भएको नगद चोरी भएको हो ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी निरीक्षक विष्णु खड्काका अनुसार दान पेटिकाबाट करिब १५ हजार रुपैयाँ चोरी भएको छ । बिहान पुजा गर्न मन्दिर पुगेका पुजारीले ताला फोडिएको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
‘मन्दिरको चाबी फुटाएर दानपेटिकामा भएको रकम चोरी भएको खबर आएको छ’, खड्काले संगालोखबरसँग भने, ‘अनुसन्धान भइरहेको छ । संलग्नको खोजी गरिरहेका छौँ ।’
यसैगरी गत माघ ९ गते हुलाक टोलबाट नगद एक लाख ५० हजार चोरीमा संलग्न व्यक्तिलाई पक्राउ गरिएको छ । धनकुटा-७ घर भएका १९ वर्षीय आकाश सहनीलाई शनिबार धरानबाट पक्राउ गरिएको खड्काले बताए । पक्राउ परेका सहनीविरुद्ध म्याद थप गरेर अनुसन्धान सुरु गरिएको छ ।