धनकुटा । वर्ल्ड अफ डान्स नेपालमा धनकुटाको एक टिम छनोटमा परेको छ । देशैभरबाट छानिएका ६ टिम मध्ये धनकुटाको एउटा टोली छनोटमा परेको हो । प्रतियोगिताका लागि कात्तिक ३० देखि मंसिर ३० गतेसम्म अनलाइन भिडियो पठाउने समय तोकिएको थियो ।
जसमा हाम्रो डान्स सेन्टरबाट पठाएको १८ वर्षमुनिको भिडियो छनोटमा परेको हो । डान्स सेन्टरका सञ्चालक तथा प्रशिक्षक सन्तवीर तामाङका अनुसार टोलीमा आठ जना बालबालिका समावेश छन् ।
उनीहरूले माघ २४ गते काठमाडौंमा हुने फाइनलमा सहभागिता जनाउने छन् । ‘अनलाइन अडिसन भएको थियो’, तामाङले संगालोखबरसँग भने, ‘देशभरबाट छ टिम छनोट भएकोमा हाम्रो पनि जुनियरतर्फ छनोटमा पर्यो ।’
तामाङले फाइनल जित्नेगरी तयारी भइरहेको जानकारी दिए । फाइनलमा जित्ने टोलीले अमेरिकामा हुने फाइनलमा अन्य देशबाट छनोट भएका टोलीसँग प्रतिस्पर्धा गर्न पाउने उनले बताए । अमेरिकामा २०२५ जुलाई १६ देखी जुलाई २१ सम्म प्रतियोगिता आयोजना हुँदैछ ।