मोहन ढकाल/संगालोखबर


विराटनगर । गत साउन ६ गते साँझ विराटनगर–१ पोखरिया विष्णुमाया पुस्तकालय अगाडि मोटरसाइकलले गाईलाई ठक्कर दियो । मोटरसाइकलको ठक्करबाट गाईको घटनास्थलमै मृत्यु भयो । चालक घाइते भए । उनको हातमा चोट लागेको थियो । साँझको समयमा विराटनगर बजारतिर जाँदै गर्दा एक्कासि सडकमा गाई आएपछि दुर्घटना भएको प्रत्यक्षदर्शीको भनाइ थियो । यस्तै, साउन २९ गते राति साढे ९ बजेको समयमा विराटनगरको एयरपोर्ट मोडमा मोटरसाइकलको ठक्करबाट घोडाको मृत्यु भयो ।

दुर्घटनामा मोटरसाइकल चालक गम्भीर घाइते भए । प्रहरीले सडकमा चौपाया भएकै कारण मोटरसाइकल दुर्घटना भएको जनाएको थियो । यी केही उदाहरणमात्र हुन् । सडकमा छाडा छोडिएका चौपायाका कारण सवारी साधन आवतजावतमै समस्या हुने गरेको छ ।

Advertisement

विशेष गरेर विराटनगरको ६ लेन सडक खण्डमा छाडा चौपायाको ‘आतङ्क’ नै हुने गरेको छ । भित्री सडकखण्डमा पनि उस्तै समस्या छ । सडकबीचको डिभाइडरमा उम्रिएको घाँस खानका लागि राजमार्गका विभिन्न स्थानमा घरपालुवा तर चरनका लागि छाडा छोडिएका र बेवारिसे चौपाया झुम्मिरहेका देखिन्छन् ।

पहिलाको तुलनामा छाडा चौपायाको संख्या केही कम भएपनि पूर्ण रूपमा नियन्त्रणमा भने आइसकेको छैन । छाडा चौपायका कारण दुर्घटनाको जोखिम कायम रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङका प्रमुख सुमन न्यौपानेले बताए । यो समस्या पूर्वतिर अझ बढी रहेको उनको भनाइ छ । छाडा चौपाया नियन्त्रण गर्ने साथै यसबाट हुने दुर्घटना न्यूनीकरणका लागि समयसमयमा ट्राफिक प्रहरीले पनि काम गर्दै आएको उनले बताए ।

पशुचौपायाका कारण हुने दुर्घटना न्यूनीकरणका लागि विभिन्न काम भइरहेको उनले जानकारी दिए । नियन्त्रणमा लिइएको चौपाया राख्नका लागि महानगरमा ‘कान्जी हाउस’ को आवश्यकता रहेको उनी बताउँछन् । विशेष गरेर घरमा पालेका चौपायाहरू चरनका लागि त्यत्तिकै छाडिदिने गर्दा समस्या भएको उनले सुनाए ।

कान्जी हाउसको आवश्यकता

विराटनगर महानगरपालिकाका नगर प्रहरी प्रमुख राजन पौडेलका अनुसार छाडा पशु चौपायाका कारण बेलाबेलामा समस्या आइरहेका हुन्छन् । महानगरमा छाडा छोडिएका चौपाया नियन्त्रणमा लिएर राख्ने ठाउँको अभाव रहेको उनले बताए । चौपाया नियन्त्रणमा लिएर राख्ने ‘कान्जी हाउस’ को लागि मेयर नागेश कोइरालाले पनि चासो देखाएको पौडेल बताउँछन् । उनले भने ‘कान्जी हाउसका विषयमा मेयरसाब सकारात्मक हुनुहुन्छ । हामीले कुरा गरेका छौँ । तत्कालका लागि एउटा मात्रै भएपनि केही हदसम्म समस्या समाधान हुने थियो ।’

महानगरको उत्तर, दक्षिण र मध्य क्षेत्र गरेर तीन ठाउँमा कान्जी हाउसको आवश्यकता रहेको उनले बताए । पौडेलले भने, ‘हामी नियन्त्रणमा लिएका पशुचौपाया वीरेन्द्र सभागृह छेउको खाली ठाउँमा राख्दै आएका छौँ । घर पालुवा चौपाया धर धनीले जरिवाना तिरेर लान्छन् । बेवारिसे चौपाया राख्न समस्या छ ।’

पौडेलले विगतको तुलनामा खुला छाडिने चौपाया केही कमी भएको बताए । नियन्त्रणमा लिएका चौपाया जरिवाना लिएर छाड्ने गरेका कारण उनीहरूमा फेरि सडकमा छाड्न हुँदैन भन्ने चेतना बढ्दै गएको पौडेलले बताए । घरपालुवा चौपाया सडकमा नछाड्न समेत उनले महानगरबासीलाई आग्रह गरे ।

कति छ जरिवाना ?

महानगरको आर्थिक ऐनमा छाडा चौपाया छाडेमा जरिवाना तोकिएको छ । नगर प्रहरी प्रमुख पौडेलका अनुसार सार्वजनिक स्थलमा घरपालुवा जनावर छाडेको खण्डमा महानगरले नियन्त्रणमा लिएपछि सम्बन्धित धनी लिन नआएको दिनसम्म तोकिएको जरिवाना प्रत्येक दिन जोडिँदै जानेछ ।

राँगा र भैँसीका लागि महानगरले दैनिक २ हजार ५ सय जरिवाना तोकेको छ । यसैगरी गाई गोरुका लागि २ हजार र खसिबाख्राका लागि दैनिक ५ सय जरिवाना तोकेको छ ।

पौडेल भन्छन्, ‘हामीले छाडा छाडिएका चौपाया नियन्त्रणमा लिइसकेपछि घरधनी तत्कालै आएमा लाग्ने जरिवाना हो यो । भोलिपल्ट, पर्सिपल्ट आएमा जरिवाना पनि जोडिदै जान्छ ।’

पौडेलले भने, ‘घरपालुवा जनावार त घरधनीले ढिलो छिटो लग्नुहुन्छ । तर बेवारिसे चौपायाको हकमा भने समस्या छ ।’ साँडे गोरुहरू नियन्त्रणमा लिएर राख्ने ठाउँ अभाव भएका कारण समस्या भएको उनले बताए । उनले भने, ‘बेलाबेलामा साँडेलाई नियन्त्रणमा लिएर गौशाला लगेर राखेको अवस्था पनि छ । कान्जी हाउस भएको खण्डमा सहज हुन्छ ।’

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!