संगालोखबर

विराटनगर । दक्षिण एसियाकै दोस्रो ठूलो रथयात्रा दाबी गरिएको राधाकृष्ण रथयात्रा हरेक वर्षझैँ यो वर्षपनि आज निकालिँदै छ । ५६औं संस्करणको रथयात्रा विराटनगर–१ पोखरियास्थित राधाकृष्ण मन्दिरबाट निकालिने छ ।

Advertisement

राधाकृष्ण मन्दिरको स्थापनासँगै वि.सं. १९८८ सालदेखि युगल जोडी भगवान श्री राधाकृष्ण आरुढ ‘खट’ यात्राबाट प्रारम्भ भएको ऐतिहासिक जात्रा २०२५ सालबाट रथयात्रामा रूपान्तरण भएको हो । खटयात्रालाई स्थानीय भूपालमानसिंह कार्की र सत्यनारायण धनावत सहितका समाजसेवी र धार्मिक व्यक्तिहरूले २०२५ सालबाट रथयात्रामा रूपान्तरण गरेका थिए ।

रथयात्रा सुरु गर्नुअघि भगवान् श्री राधाकृष्णको मूर्तिलाई खटमा राखी काँधमा बोकेर नगरपरिक्रमा गराउने चलन थियो । खटयात्रालाई रथयात्रामा रूपान्तरण गरिएयता परम्परागत शैली सहित आधुनिक रथमा भगवान् श्री राधाकृष्णको मूर्ति राखेर नगर परिक्रमा गराउने गरिएको छ ।

प्यागोडा शैलीमा निर्माण गरिएको रथको लम्बाइ २२ फिट, चौडाइ १४ फिट र उचाइ १८ फिट छ । रथ तान्नका लागि रथको अग्रभाग जुवाको दुवैतर्फ ७५ फिट लम्बाइको डोरी राखिने मूल समारोह समितिका अध्यक्ष कैलाश रेग्मीले बताए ।

रथयात्राको क्रममा श्रद्धालुहरूको अत्यधिक भीड हुने गरेका कारण त्यसलाई व्यवस्थित गर्न रथको दायाँ भागमा पुरुष र बायाँ भागमा महिलाका लागि रथ तान्ने स्थान निर्धारण गरिँदै आएको छ । भारतको जगन्नाथपुरीमा निकालिने रथयात्रा पछिको दोस्रो ठूलो रथयात्रा विराटनगरको मानिन्छ ।

हिन्दु धर्मग्रन्थहरूमा रथको महिमा र श्रीकृष्णले महाभारत लडाइँमा रथकै प्रयोग गरेको उल्लेख छ । रथको डोरी छोयो भने मोक्ष प्राप्त हुने र मनोकामना पूरा हुने विश्वास रहँदै आएको छ । रथयात्रा आम मानिसको आध्यात्मिक चेतनाको अभिवृद्धि, विश्ववन्धुत्वको भावना, धार्मिक सहिष्णुता र साम्प्रदायिक सद्भावको प्रतीकका रूपमा स्थापित भएको पाइन्छ ।

विराटनगरमा राधाकृष्ण रथयात्रा दिउँसो ३ः३० बजे सुरु हुने

लेखकको बारेमा

सत्य, तथ्य र निष्पक्ष खबरका लागि संगालोखबरको फेसवुक पेज लाइक गर्नुस् ।
युटुब च्यानल सब्स्क्राइब गर्नुस् ।

तपाईको प्रतिक्रिया

error: Content is protected !!